Fast Nepal News

अफगानी फुटबलरको रोदन

banner single news

लन्डन — २ भाद्र २०७८

लन्डन, भयभीत फोन कल र भ्वाइस म्यासेजको माध्यमबाट खालिदा पोपलले अफगानी महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूको याचना सुनिरहेकी छन् । दुई दशकपछि तालिवानीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका महिला खेलाडीमा डर स्थापित भएको छ । उनीहरू रुँदै सहयोग मागिरहेका छन् । जसले फोन गर्छन्, उनीहरूलाई पोपलले आफ्नो घरबाट भाग्न सल्लाह दिइरहेकी छन् । तर, जाने कहाँ ? उनले आफ्ना खराब छिमेकीहरूबाट बच्न सुझाइरहेकी छन्, जो महिलाले खेलेको मन पराउँदैनन् वा जो इस्लामिक इमिरेट्स अफ अफगानिस्तान चाहन्छन् । ‘मैले उनीहरूलाई सामाजिक सन्जाल बन्द गर्न, तस्बिरहरू हटाउन र आफूलाई लुकाउन प्रोत्साहित गरिरहेकी छु,’ पोपलले डेनमार्कबाट टेलिफोनमा एपीसँग भनिन्, ‘यति भनिरहँदा मैले आफूलाई रोक्न सकिरहेकी छैन । किनभने यति धेरै वर्षदेखि म उनीहरूकै उत्थानका लागि लडिरहेको छु भने अहिले उनीहरूलाई नै चुप लाग्न, लुक्न र देश छाड्न भनिरहेकी छु । त्यहाँको जीवन धेरै डरलाग्दो भइसक्यो ।’ तालिवानलाई सत्ताबाट हटाउनका लागि सहयोग गरेको पश्चिमा सहयोग फर्किएलगत्तै पुनः सत्ता संकट गरिदिनुले आफूलाई आश्चर्यमा पारेको ३४ वर्षीया पोपलको भनाइ छ ।

Inside Article Ads
सन् १९९६ मा तालिवानले पहिलोपल्ट सत्ताकब्जा गर्दा पोपलको परिवार देश छाडेर पाकिस्तानस्थित शरणार्थी सिविरमा बस्नुपरेको थियो । दुई दशकअगाडि अफगानिस्तान फर्किंदा पोपल किशोरी उमेरकी थिइन् । महिला अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने पोपलको अपेक्षा छ । ‘मेरो पुस्ताका युवाले देश निर्माण गर्ने अपेक्षा थियो । यसले आगामी पुस्ताका महिला र पुरुषहरूलाई सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले फुटबलको माध्यमबाट केटीहरूलाई सशक्त बनाउने अभियान सुरु गरेकी थिएँ ।’सन् २००७ सम्म पहिलो महिला राष्ट्रिय टिम निर्माण गर्ने समयसम्म पोपलजस्ता थुप्रै खेलाडी उत्पादन भइसकेका थिए ।
‘राष्ट्रिय टोलीको जर्सी लगाउन पाउँदा हामीलाई गर्व महसुस हुन्थ्यो,’ पोपलले सुनाइन्, ‘यो अहिलेसम्मकै सबैभन्दा राम्रो र छुट्टैखाले अनुभव थियो ।’ पोपलले त्यतिबेलैदेखि तालिवान बाहुल्य क्षेत्रमा भइरहेको युद्धको विरुद्धमा बोल्न आफ्ना टिममेटलाई प्रोत्साहित गरिरहेकी हुन्थिन् । ‘मलाई हत्याको धम्की बारम्बार आइरहेको हुन्थ्यो । किनभने यस्ता कुराहरू म राष्ट्रिय टेलिभिजनमै भनिदिन्थें,’ उनले भनिन्, ‘मैले तालिवानलाई आफ्नो दुश्मन भनेको थिएँ ।’पोपलले सन् २०११ देखि खेल्न छाडिन् । त्यसपछि अफगानिस्तान फुटबल संघमा निर्देशकको जिम्मेबारी सम्हालिन् । ज्यान मार्ने धम्की बढ्न थालेपछि सन् २०१६ मा उनले डेनमार्कमा शरण मागिन् र अफगानिस्तानबाट भाग्न बाध्य भइन् । ‘मेरो जीवन त्यतिबेला निकै खतरामा थियो,’ उनले स्मरण गरिन् ।
निर्वासनमा रहँदा पनि उनी सधैं महिला फुटबलरका बारेमा, उनीहरूमाथिको शारीरिक र यौनशोषण, ज्यान लिने धम्की र बलात्कारका घटना पर्दाफास गर्न तल्लिन रहिन् । जसले अफगानिस्तान फुटबल संघको नेतृत्वलाई खतरामा पारेको थियो ।खेलकुदमा हुने भ्रष्टाचारले एक अस्थिर देशको समस्या दर्शाउँछ । जुन अमेरिकी सेनाको फिर्तीपछि अझै धेरै बढेको छ । ‘हामीले दुश्मनी बनाइरहेका छैनौं । तर उनीहरू रोइरहेका छन् । उनीहरू दुःखी छन्, हतास् छन् । उनीहरूसँग धेरै प्रश्न छन् । अहिले जे भइरहेको छ त्यो ठीक छैन,’ उनले भनिन् । ‘मेरा खेलाडीहरू लुकिरहेका छन् । धेरैजसो आफ्नो घर छोडेर आफन्तकहाँ बसेका छन् । किनभने छिमेकीहरूलाई थाहा छ, उनीहरू खेलाडी हुन्,’ उनले थपिन् । पोपलले फिफा वरीयतामा १ सय ५२ औं स्थानमा रहेको अफगानी महिला टोलीले पुनः अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेमा शंका व्यक्त गरेकी छन् । 
(कान्तिपुर दैनिक)
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.