Fast Nepal News

कोरोना संक्रमितको अनुभव रत्न कुमार तामाङ (रामकुमार)

banner single news

 

२०७७ साल कार्तिक १० गते विजयदशमीको दिन थियो । विश्वलाई नै ठप्प पार्ने गरी फैलिरहेको कोरोना महामारीको त्रासले गर्दा दशैं, तिहार, ल्होछार लगायतका कुनै पनि चाडपर्वहरु विगतमा जस्तो भव्य रुपमा नमनाउने सोंच सबैमा बनिसकेको थियो । नेपाल सरकारले २०७६ चैत ११ गते देखि लागु हुनेगरी घोषणा गरेको लकडाउन दशैंसम्म आइपुग्दा अन्त्य भएको थिएन । त्यसैले हामीले पनि घरमा यस वर्ष दशैं नमनाउने सल्लाह गरेका थियौं । बिहान ब्युँझिदा मलाई जिउ दुखेको महशुस भयो । लामो समय देखि घरमै बसेकाले होला भन्ने सोंच्दै ८ बजेसम्म ओछ्यानमै पल्टिरहें ।

आमाले भन्नुभयो “यसपालि यहाँ दशैंको टिका थाप्न कोही पनि आउँदैनन् । अब हामी घरमा भएकाहरुले चाहिं टिका लगाउनुपर्छ ।” आमाको बचन काट्ने कुरा भएन । तामाङहरुले दशैंमा सेतो टिका राखे पनि जमरा राख्ने चलन छैन । मैले नुहाइ सकेर थालमा अलिकति टिका मुछें । त्यतिन्जेलसम्म पनि मेरो जिउ दुखिरहेकै थियो । टिका लगाउन शुरु गर्दैगर्दा करीब १० बजेतिर भाइ हरि, बुहारी शान्त र नानीहरु पनि आइपुगे । बुहारीको बुबा बित्नुभएकाले यस वर्ष बुहारीले टिका लगाउने कुरा भएन । आमा टिकाको साइत कुरेर घडी हेर्दै बसिरहनु भएको थियो । १० बजेर १९ मिनेट गएपछि आमाले “लु अब टिकाको साइत भयो ।” भनेर दुइजना नातिहरुलाई टिका लगाइदिनुभयो । त्यसपछि छोरा, बुहारी सबैलाई पालैपालो टिका लगाउँदै आशिर्वाद दिनुभयो ।

हामी सबैले चिया खायौं । हरि भाइ र बुहारी ससुरालीतिर लागे । मेरो जिउ दुखिरहेकाले मैले आमा र श्रीमती मायालाई भनें “मेरो जिउ दुखाइ अनुसार त कोरोनाको लक्षणसँग पो मेल खान्छ त । कतै कोरोना त भएन ?” त्यसपछि मायाले घरमा भएको जडिबुटीहरु मिसाएर तुरुन्तै औषधि तयार पारेर दिइन् । मैले एक कप औषधि पिएँ । तर औषधिले केही असर गरेन । जिउसँगै टाउको पनि दुख्न थाल्यो । मायाले सिटामोल दिइन्, त्यो पनि खाएँ । तर पनि दुखाइ कम भएन, झन् साह्रो पार्दै लग्यो । राति सुत्न पनि गाह्रो हुन थाल्यो । अर्को दिन देखि माया र आमालाई पनि मलाई जस्तै जिउ दुख्न शुरु भयो । आमा खोक्न पनि थाल्नुभयो । त्यसपछि हामी तीनै जना पिसीआर टेस्ट गर्न खाङ्ग्री हस्पिटल गयौं । भोलिपल्ट ४ बजे पिसीआरको रिपोर्ट आयो, हामी तीनै जनामा कोरोना पोजिटिभ देखियो ।

एकै घरका तीन जना कोरोना संक्रमित भएपछि हामी निकै चिन्तित भयौं । घरमै आइसोलेसनमा बस्ने सल्लाह गरेर तीनै जना छुट्टाछुट्टै कोठामा बस्यौं । मायाले जिउ दुखे पनि खाना खाइन् । आमाले पनि खाना मज्जाले खानुभयो । दुवैजना हिड्डुल पनि गरिरहेकै थिए । तर मेरो भने टाउको र जिउ सहनै नसक्ने गरी दुखि नै रह्यो । खाना मुखमा हाल्यो कि वान्ता भइहाल्ने ! खोकि र पखला पनि सँगसँगै शुरु भयो । प्रत्येक १० मिनेटमा ट्वाइलेट जानैपर्ने ! सास फेर्न समेत गाह्रो हुन थालेपछि लाक्पा भान्जाले अक्सिजन किनेर ल्याइदिनु भयो । अक्सिजन लिएपछि सास फेर्न थोरै सजिलो महशुस भयो । तुरुन्तै छोरीहरु नर्स रस्मिता र अस्मितालाई बोलाएँ, उनीहरुले स्लाइन पानी चढाइ दिए । तर पनि दुखाइ कम भएन, झन्झन् गाह्रो बनाउँदै लग्यो ।

आमालाई पनि सास फेर्न गाह्रो भएपछि अक्सिजन दिन शुरु गरियो । घरमा तीन जना बिरामी भएका छौं, तर पनि आफन्त र छिमेकीहरु कोही पनि हेर्न आउँदैनन् । कोरोना संक्रमित बिरामीलाई अछुतलाई झैं गरेको खबर त सुनेकै थियौं, तर आफैले भोग्नुपर्दा भने नरमाइलो लाग्यो । कोठा भित्र एक्लै थुनिएर रुँदै बसें, सायद आमा र मायाको पनि उही हाल भयो होला । हामी कोठामा थुनिएर बस्दा कान्छी छोरी सर्मिला, बुहारी र छोरा निमा तीन जनाले खानपिनको व्यवस्था गरिदिए ।

कार्तिक १७ गतेको बिहान ६ बजेतिर बेडमै बेहोश भएर ढलेछु । होशमा आएपछि मैले मायालाई भनें “अब घर बसेर नहुने भयो । सबैजना तुरुन्तै हस्पिटल जाउँ ।” त्यसपछि विभिन्न हस्पिटलमा सोधपुछ ग¥यौं, तर कतै पनि आइसियुमा बेड खाली भएको खबर पाइएन । त्यसपछि मेल्बर्न, अस्ट्रेलियामा भएकी छोरी डा. सबिनासँग कुरा ग¥यौं । छोरीले नेपालमा भएको आफ्नो साथीसँग कुरा गरेपछि मेगा हस्पिटलमा दुइ वटा बेड खाली भएको जानकारी पायौं । मेगा हस्पिटलमा फोन ग¥यौं र आइसियु बेड बुक गरेर तुरुन्तै घरबाट निस्कियौं । हामी हस्पिटल पुग्दा रातको १० बजिसकेको थियो । हस्पिटल पुगेपछि म बेहोश भएछु, त्यसपछि केही पनि थाहा पाइन ।

हस्पिटल भर्ना भएको दुइ दिन पछि होश खुल्दा जिउ दुख्न केही कम भएको महशुस गरें । त्यसपछि भने वान्ता र पखला रोकियो, टाउको दुख्न पनि कम भयो । होशमा आएपछि मनमा धेरै कुराहरु खेल्न थाल्यो । मेरा छोराछोरीहरु त आ–आफ्नो ठाउँमा स्थापित भइसकेका छन् । तर मेरो संरक्षणमा रहेका नानीहरुको भविष्य के होला ? यदि मेरो मृत्यु अहिले नै भइहाल्यो भने उनीहरुको अभिभावकत्व अरु कसैले लिइदेलान् कि नलिइदेलान् ? कतै ती कलिला नानीहरुको जीवन मेरो मृत्युसँगै अन्धकारमय पो हुने हो कि ? भन्ने चिन्ताले मलाई निकै सतायो । मृत्युको भयले गर्दा अब मायालाई फोन गरेर सबै घर व्यवहार राम्ररी सम्हाल्न भन्नुपर्ला भन्ने सोंच्दै बेडमा पल्टिरहें ।

तेस्रो दिन बिहान ३ बजेतिर मलाई बल्ल केही खान पाए हुन्थ्यो, तातो पानी भए पनि पिउन पाए हुन्थ्यो जस्तो लाग्यो । तर त्यति बिहानै कसले ल्याइदिन्छ र ? अलिकति आँखा खोलेर हर्ट रेट मोनिटरमा हेर्दा मेरो हर्टबिट ९१ देखेपछि थोरै सान्त्वना मिल्यो । मलाई राखिएको आइसियु कोठामा एघार वटा बेडहरु थिए । बेडमा प्रायः वृद्ध अवस्थामा पुगेका बिरामीहरु ऐया र आत्था गरिरहेका आवाज कानमा ठोक्किन आइपुग्थ्यो । बिहान ६ बजेतिर दुइजना नर्स आएर यताउता हेर्न थाले । त्यस्तै ७ बजेतिर डाक्टर श्रीबोथ आउनुभयो । मेरो मुहारमा हेरेर डाक्टरले भन्नु भयो “रामजी, अब तपाई केही दिनमा ठीक हुनुहुन्छ ।” त्यतिबेलासम्म पनि मलाई बोल्न गाह्रो भइरहेकै थियो, म बोल्न सकिनँ, डाक्टरतिर हेरि मात्र रहें । त्यसपछि “केहीबेर पछि खाजा आउँछ, खानुहोला ।” यति भनेर डाक्टर जानुभयो ।

८ बजेतिर एक कप कालो चिया र एक प्याकेट नुनिलो बिस्कुट खाजा स्वरुप आइपुग्यो । खानेकुरा देखेपछि अर्को बेडमा मृत्युसँग लडिरहेकी आमातिर हेरें । आमालाई देखेपछि झन् रुन मन लाग्यो । मनमा असैह्या पीडा भयो, आँखाबाट अनायासै आँशु बग्न थाल्यो । मैले सोंचे, म मात्रै कसरी खाउँ त्यो बिस्कुट र चिया ? आमाले खानु भयो कि खानु भएन होला ? तै पनि मैले अश्रुमिश्रित कालो चियामा तीन पिस बिस्कुट भिजाएर जबरजस्ती निलें ।

दिनमा दुइ–तीन पटक मायाले फोन गरेर रुँदै भन्थिन् “म ठीक हुँदैछु । तपाई जसरी पनि बाँच्नुपर्छ ।” मायाले यसो भन्दै गर्दा पीडा माथि झन् पीडा थपिएर आयो । साथीहरुले पनि फोन गरिरहेकै थिए । चौथो दिनको बिहान डाक्टरले भन्नुभयो “अब रेमडेसिवीर भन्ने औषधि चलाउनु पर्ला । यो औषधि निकै महँगो र त्यतिकै जोखिमपूर्ण पनि भएकाले बजारमा सहजै पाउन सकिन्न । औषधि चलाउन तपाईको घर परिवारसँग सल्लाह गर्नुस् । तर यो औषधिले धेरै बिरामीहरु निको भएका छन् ।” डाक्टरको कुरा सुनेपछि मैले भनें “डाक्टरसाप, यसबारे कसैलाई पनि सोध्नुपर्दैन । औषधि पाउनु भयो भने चलाउनुहोस्, म तयार छु ।” त्यसपछि डाक्टरले “जसरी भए पनि तपाईका लागि उक्त औषधि खोजेर ल्याइदिन्छौं ।” भन्दै बाहिरिनु भयो ।

त्यसपछि मैले डाक्टरसँग औषधिको बारेमा भएको कुराकानी मायालाई सुनाएँ । औषधि जोखिमपूर्ण हुन्छ भन्ने कुराले माया निकै चिन्तित भइन् “आफ्नो ज्यानको खतरा हुन्छ भने बरु नलगाउ” भनेर उनी रुन थालिन् । तुरुन्तै भाइ हरिले डा. जाङ्बु शेर्पासँग यसबारेमा कुरा गरेछन् । डा. जाङ्बुले कोरोना संक्रमितको उपचारमा संलग्न अर्को डाक्टरसँग कुरा गरेर यो औषधि चलाउँदा फरक नपर्ने सुझाव दिनुभएछ । त्यसपछि बल्ल अस्पतालका डाक्टरलाई औषधि ल्याउन लगायौं । राति १० बजे मलाई इन्जेक्सनबाट “रेमडेसिवीर” नामक औषधि दिइयो । तर मेरो मनमा तलमाथि केही हुने पो हो कि भनेर फेरि अनेकौं कुराहरु खेल्न थाल्यो । इन्जेक्सन लगाएपछि डाक्टरले भन्नु भयो “यो औषधिले धेरै किसिमका एलर्जीहरु हुनसक्छन् । यदि कुनै पनि किसिमको एलर्जी भयो भने औषधि दिन बन्द गर्नुपर्छ । एलर्जी भयो भने नर्सलाई तुरुन्तै खबर गर्नुहोला ।”

भोलिपल्ट बिहान सात बजे नै डा. श्रीबोथ आउनुभयो । मेरो अनुहार तिर हेरेर “तपाईलाई कस्तो छ ?” भनेर सोध्नुभयो ।

मलाई बोल्न गाह्रो भइरहेको थियो । डा. श्रीबोथले फेरि सोध्नुभयो “कुनै किसिमको एलर्जी भयो ?”
मैले भनें “मलाई कुनै पनि एलर्जी भएको छैन ।”

डाक्टरले फेरि सोध्नु भयो “रामजी, तपाईलाई औषधिले राम्रोसँग काम गरेको छ । तपाई एकदमै ढुक्क भएर बस्नुस् । केही दिनमै रिकभर हुनुहुनेछ । अब तपाईले आज केही तातो सुप र जाउलो खानुपर्छ ।”

मैले तुरुन्तै मायालाई फोन गरें र भनें, “डाक्टर सापले भन्नुभएको औषधिले राम्रो काम गरेको छ रे । आज तातो सुप र जाउलो खानु भन्नु भएको छ ।”

उनी रोइरहेको फोनमा प्रष्ट सुनिरहेको थिएँ । मैले भनें “नरोऊ, अब म साँच्चै नै बाँच्छु ।”

मायाले घरबाटै जाउलो बनाएर भाइ हरिलाई पठाइदिइन् । मैले सात चम्चा जाउलो खाएँ । त्यतिन्जेलसम्ममा मैले एकदमै आराम भएको महशुस गर्न थालिसकेको थिएँ ।

मेरो अगाडिको अर्को बेडमा आमा पल्टिरहनु भएको छ, तर बोल्न पाउँदिन । आमालाई देख्ने बित्तिकै मन भक्कानिएर आउँछ । आँशु थाम्न सक्दिनँ, रुन थाल्छु । आमाले जाउलो खानुभयो कि भएन होला ? मनमा प्रश्न उठ्छ ।

उता घरमा माया रुँदै बसेकी छिन् । बेलाबेलामा फोनमा कुरा भइरहेको छ । मैले मायालाई भनें “अब मेरो चिन्ता नलेऊ । म पक्का बाँच्छु । बरु तिमीले अस्ट्रेलियामा रहेकी छोरी सविना, फ्रान्समा भएका छोरा मोहन लगायत सबै आफन्त र मेरो स्वास्थ्य स्थितिको बारेमा चिन्तित सबै साथीभाइहरुलाई मेरो स्वास्थ्यमा सुधार भइरहेको खबर दिनु ।”

Inside Article Ads

मैले यसो भनिरहँदा पनि उनले पत्याइरहेकी थिइनन् । उनलाई लागिरहेको थियो कि मैले अझै ढाँटिरहेको छु ।

उनले रुँदै भनिन् “तपाईले ढाँटिरहनु भएको छ, तपाई अझै ठीक हुनुभएको छैन । तर मैले तपाई चाँडो निको होस् भनेर दिनरात भगवानसँग प्रार्थना गरिरहेकी छु । दक्षिणकाली मातालाई बिन्ती चढाएकी छु । मैले संसारका सबै देवदेवीहरुलाई पुकारेर बिन्ती चढाएकी छु । तपाई चाँडै निको हुनुहुनेछ ।”

सातौं दिनमा डाक्टरले भन्नुभयो, “रामजी, तपाईको स्वास्थ्य एकदमै राम्रोसँग रिकभर भइरहेको छ । आज देखि तपाई आइसियुबाट हाइ केयर रुममा जानुपर्छ ।”

दिउँसो ४ बजेतिर मलाई आइसियुबाट निकालेर हाइकेयर रुममा सारियो । आइसियुबाट निस्कनु अघि मैले आमालाई भेटें । सात दिनपछि आमाको छेउमा पुग्न पाएँ । मलाई देख्ने बित्तिकै आमा रुन थाल्नुभयो । मैले आमालाई भनें “आमा, मलाई निकै राम्रो भएको छ । त्यसैले आज मलाई हाइकेयर रुममा सार्दै छ । तपाई पनि केही दिनमा माथि हाइकेयर रुममा सर्नुपर्छ ।” यति भनेपछि हामी आमा–छोरा रुँदै छुट्टियौं ।

उपचार गर्न लागेको खर्चको बारेमा मायासँग कुराकानी हुँदा “हामीले अहिलेसम्म सात लाख तिरिसकेका छौं । हस्पिटलले अझै तपाई र आमा दुइजनाको उपचारका लागि पच्चीस–छब्बीस लाख चाहिन्छ भनेको छ ।” भन्दै थिइन् । उपचारमा लाग्ने खर्च सुनेर अर्कोतिर मनमा तनाब थपिंदै गइरहेको थियो ।

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताइरहेता पनि हामी जस्ता सयौं बिरामीहरु अस्पतालमा पैसा तिर्न बाध्य थियौं । सरकारले निःशुल्क उपचार गर्ने भनिएता पनि त्यसको प्रक्रियाको बारेमा अस्पतालले कुनै पनि बिरामीलाई जानकारी दिंदैनथ्यो, त्यसैले हामी पनि यसबारेमा अनभिज्ञ थियौं । हाइकेयर रुममा सरेपछि अन्य दुइजना कोरोना संक्रमित बिरामीहरुसँग भेट भयो । दुवैजना निकै राम्रो रिकभर भइसकेका रहेछन् । सबैजना कोरोना संक्रमित भएकाले उपचार गर्दा अस्पतालमा लागेको खर्च लगायत विविध विषयहरुमा एकअर्काबीच कुराकानी भयो । मैले हालसम्म सात लाख खर्च भइसकेको बताएपछि एकजना बिरामीले वडा कार्यालयको सिफारिस भएमा अस्पतालले कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्ने कुरा बतायो । त्यसपछि हामीले वडा कार्यालयबाट सिफारिस लिएर अस्पतालमा बुझायौं । यसबारेमा अस्पतालले शुरुमै हामीलाई जानकारी दिएको भए कोरोनाको उपचार गर्न हामीले लाखौं रुपैंया खर्च गर्नु नपर्ने रहेछ ।
तीन दिन हाइ केयरमा बसेपछि मैले स्वास्थ्यमा निकै सुधार भएको महशुस गरें । हस्पिटलमा अन्य धेरै नयाँ बिरामीहरु थपिएकाले सबै बेडहरु भरिभराउ थिए । डाक्टरले “रामजी, यहाँ धेरै नयाँ बिरामीहरु आए, अब तपाई साधारण बेडमा जानुपर्छ ।” भन्नु भयो । त्यसपछि मलाई साधारण बेडमा सारियो । त्यहाँ म जस्तै रिकभर भइसकेका अन्य सात जना बिरामीहरु थिए ।

एघारौं दिनको बिहान डाक्टरले “नयाँ बिरामीहरु पनि थपिरहने भएकाले अब तपाई यहाँ बस्नु त्यति राम्रो हुँदैन, तपाईलाई हामी गेष्ट हाउसमा रुम बुकिङ गरिदिन्छौं, त्यहाँ जानुस् ।” भन्नुभयो । गेष्ट हाउसमा बसेको दैनिक तीन हजार र खानाको छुट्टै तिर्नुपर्ने रहेछ । मैले भनें “डाक्टरसाब, म गेष्ट हाउस जान्नँ, बरु म आफ्नै घरमा जान्छु ।” डाक्टरसाबले भन्नुभयो “छुट्टै कोठा छ भने घर जाँदा पनि हुन्छ, तर तपाईलाई डाक्टरको सहायता चाहिन्छ, अझै एक हप्ताको औषधि खान बाँकी नै छ ।” त्यसपछि मैले भनें “मेरो घरमै छोरी डा. समीक्षा र नर्सहरु अस्मीता र रस्मीता छन् ।”

त्यसपछि बल्ल डाक्टरले घर फर्कन स्वीकृति दिनुभयोे । कार्तिक २७ गते दिउँसो १२ बजेतिर हस्पिटलबाट घर फर्कने सल्लाह भयो । त्यसपछि रिसेप्सनमा आएर बाँकी पैसा तिरेर हस्पिटलबाट निस्कनु अघि आइसियुमा आमालाई भेट्न गएँ ।

आइसियुमै रहनु भएकी आमाको दयनीय अवस्था देखेर साह्रै चिन्ता लाग्यो । आँखाभरि आँशु पार्दै मैले आमालाई भनें “आमा, मलाई निकै राम्रो भएको छ । माथि हाइकेयर र साधारण कोठामा धेरै बिरामीहरु छन् । त्यसैले म चाहिं घरमै गएर बस्छु ।” आमाले केही बोल्नु भएन, मात्र रोइरहनु भयो । यति भनेर म आमासँग छुट्टिएँ । त्यहीं नै आमा–छोराको अन्तिम भेट हुनपुग्यो ।

मंसीर १ गतेका दिन पनि अरु दिन झैं डाक्टरसँग फोनमा कुरा भयो । डाक्टरले आमाको स्वास्थ्य एकदमै नाजुक हुँदै गइरहेको जानकारी दिनु भयो । म आफैं पनि उत्तिकै कमजोर भएको छु । माया पनि एकदमै कमजोर भएको देख्छु । भित्रभित्रै मन भतभती पोलिरह्यो ।

मंसीर २ गते डाक्टरले भन्नु भयो, “आमाको स्वास्थ्यमा सुधार हुन नसकेकाले अब घर लान सक्नुहुन्छ । अस्पतालमा राखेर पनि यो भन्दा बढी सुधार हुने अवस्था छैन । तर तपाईले आवश्यक सामानहरु चाहिं किन्नुपर्छ ।” हामीले आवश्यक सबै सामानहरु जम्मा ग¥यौं । तर भाइटल साइन मोनिटर बजारमा पाइएन ।

मंसीर ३ गते बल्लबल्ल मोनिटर किनेर ल्यायौं । सबै सामानको बन्दोबस्त भएकाले मंसीर ४ गते बिहान ७ बजे घर ल्याउने सल्लाह ग¥यौं । तर त्यहीं बेलुकी ४ बजेतिर हस्पिटलबाट फोन गरेर “तपाईहरु सबैजना तुरुन्तै हस्पिटल आउनु पर्ने भयो ।” भन्ने खबर आयो । हामी छोराछोरीहरु सबैजना मेगा हस्पिटल पुग्यौं । हामी हस्पिटल पुग्नु अगाडि नै आमाले यो संसार छाडेर गइसक्नु भएको रहेछ । यसरी बुबा बित्नु भएको २१ वर्ष पछि २०७७ साल मंसीर ३ गतेका दिन आमाको दुखद निधन भयो ।

कोरोनाले संसारका अन्य लाखौंलाई जस्तै हाम्रो जीवनमा पनि कहिल्यै नबिर्सने अमीट छाप छाडेर गयो । म र माया दुवै जना कोरानोबाट संक्रमित भएर तंग्रिन शुरु मात्रै गर्दै थियौं, आमाको निधनले चोट माथि अर्को चोट थपिदियो ।

संसारमा सबै भन्दा बढी माया गर्ने व्यक्ति आमा नै हुन्छिन् । आमाको निधनले हाम्रो रुवाबासी भयो । झनै अस्तपाल प्रशासनले आमाको लाश लान त के अन्तिम पटक हेर्न समेत नपाउने भनेपछि सबैजना झन् धेरै रुन थाल्यौ ।

हाम्रो अनुनय विनय सुनेपछि डाक्टरले एउटा सल्लाह दिनु भयोे, तुरुन्तै आमाको स्वाब झिकेर पिसीआर चेक गर्न ल्याबमा पठाउने र कोरोना नेगेटिभ देखिएमा हामीलाई जिम्मा दिने । अस्पताल प्रशासन र हामी सबैजना डाक्टरको सुझावमा सहमत भयौं । बेलुकी चार बजेतिर आमाको ल्याब रिपोर्ट आयो । कोरोना नेगेटिभ आएकाले अस्पताल प्रशासन र प्रहरीले आमाको शव लैजान हामीलाई स्वीकृति दियो । सबैजना आफ्नो परम्परा अनुसार दाहसंस्कार गर्न पाउने भयौं भनेर खुशी भयौं ।

हामीले तुरुन्तै आमाको शव तामाङ सेवा केन्द्र–नेपालको गुम्बामा ल्यायौं । सबैले आमाको मुख अन्तिम पटक हेर्न पाए । गुम्बामा आमाको अन्त्येष्टिका लागि चार सय जति मलामी जम्मा भएका थिए । एक रात गुम्बामा राखेपछि २०७७ मंसीर ५ गतेका दिन बौद्ध परम्परा अनुसार जम्बुडाँडामा उहाँको दाहसंस्कार ग¥यौं ।

नेपालमा फेरि पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले ठीक एक वर्षपछि २०७८ वैशाख १६ गते देखि लकडाउनको घोषणा गरेको छ । धेरैलाई लाग्नसक्छ कि कोरोना रुघाखोकी जस्तो सामान्य बिरामी मात्रै हो । अघिल्लो पल्ट कोरोना संक्रमण भएर मृत्युको मुखबाट उम्केर आएको एक कोरोना संक्रमितको हैसियतले सबैलाई आग्रह गर्न चाहन्छु कि कोरोनालाई सामान्य नठानौं, मलाई केही पनि भएको छैन भनेर कसैले पनि बेवास्ता नगरौं, आफैं सचेत भएर कोरोनाको महामारीबाट बचौं । सबैले सोचौं, सरकारले घोषणा गरेको लकडाउन सम्पूर्ण नागरिकहरुले इमान्दारितापुर्वक पालना गर्दा मात्रै कोरोनाबाट हामी सबैजना बच्नसक्छौं ।

(विगत पाँच दशक देखि पर्यटन क्षेत्रमा आबद्ध पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार) को हालै प्रकाशित “ट्रेकिङका सम्झनाहरु” नामक संस्मरणात्मक पुस्तकबाट साभार)

 

 

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.