Fast Nepal News

मानविकी संकायमा अवसरै अवसरः मानविकी संकाय अन्तर्गत रहेका हरेक विषयको आ–आफ्नै महत्व रहेको छ ।

banner single news

शिवराज पौड्याल

मानवीय संवेदना, संयम र सम्भावनालाई उजागर गर्ने साहित्य, संगीत र कलाका क्षेत्रहरु बहुआयामिक छन् । व्यतित्व, नेतृत्व र बुध्दत्व विकासका लागि समर्पित मानविकीका विविध विषयहरुले विद्यार्थीलाई सशक्त र सबल पक्कै बनाउँछन् । भाषा, संस्कृति, दर्शन र अध्यात्मको गहिरो अध्ययनले विद्यार्थीलाई पक्कै पनि आफूमा निहित अनुपम क्षमता र सीपको बोध गराउँछ । त्यसैले मानविकी तथा सामाजिकविज्ञान आजको आवश्यकता हो । मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको आजको समयमा मानविकीको अध्ययनले विद्यार्थीलाई पक्कै पनि कर्तव्यप्रति सचेत बनाउँछ । बोध तथा अभिव्यक्ति कलाको विकासमा आमसञ्चार, पत्रकारिता तथा समकालीन समाज जस्ता विषयले पक्कै पनि सघाउँछन् । भाषाको अध्ययनले समाज, इतिहास, भूगोल, वर्तमान र संस्कृतिलाई बुझ्न सहयोग गर्दछ । यसको गहिरो अध्ययनले विद्यार्थीमा बहुआयामिक क्षमतासँगै जिम्मेवारी बोधको पनि विकास हुन्छ ।
मानविकी संकाय अन्तर्गत रहेका हरेक विषयको आ–आफ्नै महत्व रहेको छ, जसको अध्ययनबाट नेपाल सरकारको निजामति सेवामा प्रवेश गर्न निकै सजिलो हुने कुरा सर्वविदितै रहेको छ । प्राविधिक विषयमा कमजोर र कम जीपिए आएका विद्यार्थीहरुले मात्र मानविकी पढ्ने महिला चलन रहेता पनि अहिले आएर यसको क्षेत्र फराकिलो पारिएकोले धेरै विद्यार्थीहरु मानविकी पढ्ने गर्दछन् । मानविकी अन्तर्गत रहेका समाजशास्त्र, आमसञ्चार र पत्रकारिता, अर्थशास्त्र साधारण कानून, राजनीति शास्त्र मानव मूल्य शिक्षाका व्यवहारिक पक्षहरु बढी रहदै आएको हुनाले दिन प्रति दिन यि विषयहरुको महत्व वढ्दै गइरहेको छ ।
विशेष गरी लोकसेवा आयोगको परीक्षामा मानविकी संकायका विषयवस्तुहरु सँग सम्वन्धित प्रश्नहरु सोधिने भएकोले आयोगको परीक्षा उत्तीर्ण गर्न सहज हुने गरेको पाइन्छ । मानविकी संकायका विषयहरुको पठनपाठनबाट देशको सामाजिक, ऐतिहासिक, साँस्कृतिक, भौगोलिक, आर्थिक एवंम राजनैतिक पक्षहरुको अध्ययन हुने भएकोले ज्ञान वढाउन एवंम रोजगारीका दृष्टिकोणले अब्बल मानिन्छन् ।
भाषा समूह अन्तर्गत रहेका नेपाली विषयको अध्ययन मुख्य गरी भाषिक शुद्धताका लागि गरिन्छ । जसको मद्दतवाट सुनाइ, वोलाइ, पढाइ र लेखाइ सीपको विकास गर्न सकिन्छ । भाषकै माध्यमवाट समाज रहेको फरक–फरक सँस्कृतिहरुलाई विश्व भरी चिनाउन सकिन्छ । सुन्ने, बोल्ने, बुझ्ने र अभिव्यक्त गर्ने सीप भाषाको माध्यमवाट मात्र हुने गर्दछ । यिनै सीपको माध्यमवाट विभिन्न आन्तरिक, बाह्य एवंम आयोगका परीक्षाहरुमा समेत सफलता प्राप्त गर्न सकिन्छ । विदेशमा पढ्न वा जागीर गर्न जानको लागि पनि विभिन्न देशका भाषाहरु पास गर्नुपर्दछ र राम्रो स्कोर पनि हासिल गर्नु पर्दछ । पछिल्लो समय विभिन्न निकायले विदेशी दोभाषेका जनशक्ति काग गर्ने गरेका छन् । यसरी भाषाको अध्ययन पनि मानविकी संकाय अन्तर्गत पर्दछ । जसको कारण यस संकायको महत्व बढ्दै गएको छ ।
आमसञ्चारका माध्यम पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनको आकार्षणले आमसञ्चार तथा पत्रकारिता विषयको महत्व बढेको छ । पर्दामा देखिन पाउने, आवाजमार्फत समाजका कुना कुना सम्म पुग्न पाउने, सेकेन्ड भरमा विश्व समूदायसँग साक्षात्कार हुन पाउने भएकोले युवा पुस्ता माझ यो विषयको आकार्षण निकै बढेको छ । रोजगारीमा पनि सूचना अधिकारीको रुपमा जागीर पाउने चलन बढ्दै गएको छ ।
मानविकी संकाय अन्तर्गत रहेका अन्य थुप्रै विषयहरु संगीत, कला, नृत्य, पेन्टिङ्ग, खेल विज्ञान, साधारण कानून, गृहविज्ञान एवंम ग्रामीण विकास जस्ता विषयहरु स्वरोजगारीका दृष्टिकोणले अब्बल छ ।
त्यसैले मानविकी संकायका नेपाली, अंग्रेजी, समाजशास्त्र, पत्रकारिता, साधारण कानून, पेन्टिङ्ग आदि विषयहरु विभिन्न आयोगका परीक्षाहरु उत्तीर्ण गर्न निजामति सेवा एवंम विश्वविद्यालय सेवा, शिक्षक सेवा, सरकारी एवंम गैरसरकारी संस्थाहरुमा रोजगारीका लागि अब्बल मानिन्छन् । त्यसैले पछिल्लो समयमा मानविकी संकायमा आकार्षण बढ्दो क्रममा रहेको छ । साधना र संयमले मात्रै सिद्धि प्राप्त हुन्छ । साहित्य, संगीत तथा कला अर्थात् मानविकी प्रतिको समर्पणले पक्कै पनि अपेक्षित नतिजा प्राप्त हुन्छ र वर्तमानमा आनन्द र खुसीका साथ जिउन सकिन्छ । जीवन्त मानिस बन्ने दिशामा आजैबाट लागौं ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.