Fast Nepal News

अबको दिनमा मुलुकको शिक्षा प्रणाली कस्तो होला ?

डा. हरिप्रसाद लम्साल (सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिँहदरबार, काठमाडौँ ।)

banner single news

कोभिड १९ ले मानव जीवनमाथी नै प्रश्न उठाइरहेको बेलामा शिक्षामा अब के होला भन्ने प्रश्नले खासै महत्व नपाउन सक्ला । शिक्षा नर्मल सिचुएशनमा त प्राथमिकतामा परेको थिएन भने अब त झन के पर्ला र ?
कोभिड १९ को बन्दबन्दीले शैक्षिक संस्था बन्द भए । विद्यार्थी शिक्षक घरमै रहन बाध्य भए । अर्को विकल्प पनि थिएन । शैक्षिक संस्था नै नखुलेको अवस्थामा विद्यार्थीको सिकाइको कुरा के गर्नु ? परीक्षामात्रै लिन पनि कठिन देखियो । बिना परीक्षा माथिल्लो कक्षाका जाने वातावरण बनिरहेको देखिन्छ । फरक विधि प्रयोग गर्न हामीले नसक्ने अनि गरिआएका विधिबाट काम गर्न नमिल्ने अवस्थामा शिक्षा प्रणाली पुग्यो । परीक्षा नदिइकन माथि जान पाउने अवस्था अहिलेका लागि त ठिकै लाग्दै होला कतिलाइ, तर यसको असर जीवन रहेसम्म रहनसक्छ ।
विगतको दशकमा शिक्षामा खर्च बढेको छ । तालिम लिने शिक्षकको सङ्ख्या बढेको छ । प्रशासनिक खर्च बढेको छ । संघियता कार्यान्वयन पश्चात शिक्षा हेर्ने सरकारको सङ्ख्या बढेको छ । बैठक र सुझाव दिने मात्रा बढेको छ । गैरसरकारी संस्था बढेका छन् । तर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रकाशित गरेको अध्ययनका प्राप्तिका अनुसार बितेको दशकमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आएन । अध्ययन अनुसन्धानले सिकाइ उपलब्धि नबढ्नुका कारण पनि उजागर गरेका छन् । सामान्य अवस्थामा यस्तो रहेको सिकाइ कोभिड १९ पछि के भयो होला ? यसैका कारणले शिक्षक विद्यार्थिको भेट हुनै छाडेपछि सिकाइ अझ कमजोर हुनसक्छ । शायद यसले पनि ओह्रालो यात्रा तय गरेको हुनसक्छ ।
कक्षा १० को नतिजा विद्यालयले दिएको प्राप्ताङ्कका आधारमा प्रकाशित भयो । कस्तो रह्यो भन्नेमा यहाँ खासै चर्चा गर्न नपरिरहला । कोहि कसैप्रति जवाफदेही हुनै नपर्ने अवस्था देखियो । कक्षा १२ को परीक्षा हुनै बाँकी छ । यो परीक्षा कसरी भन्ने विषय निर्क्यौल हुनै बाँकी छ । भरखरै चिकित्सा शिक्षा आयोगले स्वास्थ शिक्षा क्षेत्रका स्नातक तहमा विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा लिइ नतिजा प्रकाशन गर्यो । प्रारम्भिक तथ्याङ्कले देखाए अनुसार चाहिने सङ्ख्यामा पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । भनाइको मतलब ५० प्रतिशत अङ्क ल्याउन सकेनन् । यसका पछाडि मुख्य दुइ कारण हुनसक्छन । पहिलो विद्यालय तहका विद्यार्थीको सिकाइ स्तर हामीले सोचेभन्दा पनि तल छ । दोश्रो, परीक्षा पद्धतिमा केहि कमजोरी रहे । यसमा थप अध्ययन अनुसन्धान नगरिकन निचोड निकाल्न कठिन छ । निचोड जे आएपनि एउटा यथार्थ चाँहि भन्न सकिन्छ कि मुलुकको शिक्षा प्रणाली स्वस्थ छैन ।
कोभिड १९ कै बीचमा पनि मानविय जीवन दुखसुख चलेकै छ । बन्दाबन्दी बाहेक विस्तारै दैनन्दिनी नियमिततामा आउन थालेको छनक पाइन्छ । भय र त्रासका बीचमा मानवीय कृयाकलाप जेनतेन चलेकै छन् । सिमित उद्योग व्यवशाय केहि मात्रामा भए पनि चलेकै छन् । कतिपय क्षेत्र अझै सञ्चालनमा आउन नसकेको यथार्थ पनि हाम्रा सामु छ नै । सञ्चालनमा आउन नसकेको क्षेत्रमध्ये शिक्षा पनि एक हो । शिक्षाका कार्यालयहरु खुलेकै छन् । विद्यालयका कार्यालय खुलेकै छन भनेर मान्नु पर्छ । तर शैक्षिक कृयाकलापका लागि धेरैजसो विद्यालय र शैक्षिक संस्था बन्द जस्तै छन् । यस बीचमा पनि शिक्षा प्रणालीभित्रका केहि संस्थाहरुले भर्चुअल प्रणालीबाट शिक्षण सिकाइ कृयाकलाप सञ्चालनमा ल्याइरहे, परीक्षा पनि लिइ रहे । केहि गर्ने र नगर्नेलाइ एउटै डालोमा राखेर हेर्ने प्रचलन छ । नगरेकालाइ केहि भए पनि गर्न लगाउन हाम्रा संयन्त्र चुके । भएको क्षमता प्रयोग गर्न लगाउन पनि सकिएन ।
शुरुवाती रुझानले देखाएअनुसार मुलुकमा अबका दिनमा उच्च शिक्षा जेनतेन भर्चुअल प्रणालीमा जाने देखिन्छ । तर विद्यालय शिक्षा के होला ? मुलुकमा सबै तथ्याङ्क जोड्दा पनि अझ ७० प्रतिशतभन्दा बढि बालबालिका भर्चुअल वा यस्तै अन्य प्रणालीबाट शैक्षिक कृयाकलापमा जोडिन सकेका छैनन् । यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक क्षेत्रका तालिम तथा प्रयोगात्मक अभ्यास के हुने ? उत्तर कसले दिने भन्नेमा पनि स्पष्टता छैन् । संघीय सरकारले बजेट विनियोजन र निर्देशिका ल्याएपछि कर्तव्य पुरा भएको सम्झ्यो । स्थानीय तहले संघले खाका नै दिएन भने पछि सकियो । अधिकारमा पो हानथाप हुन्छ । कर्तव्य त सबैले बिर्सने मध्येको फगत एक शब्द त हो नि ।
कोभिड १९ को बीचमा पनि शिक्षा प्रणालीको इनपुट(लगानी)मा खासै कमी आएको छैन् । भएको बजेटको अधिक हिस्सा खर्च भएकै छ । पुजीँगत खर्चमात्र हुन नसकेको हो । चालु प्रकृतिका अधिकाँश कार्यमा विनियोजन गरिएको बजेट सकिएकै छ । तर शैक्षिक प्रकृया चलेको छैन, उपलब्धिको मापन हुन सकेको छैन, भएको मापन पनि प्रभावकारी बनेको छैन् । शिक्षामा विनियोजन गरेको बजेटबाट इनपुटको व्यवस्था, प्रकृया सञ्चालन र उपलब्धि मापन हुनुपर्थ्यो । तर यी तीनमध्ये पछिल्ला दुइ हुन सकेनन् । २०७६ सालको चैत्रवाट नै यी दुइ पक्ष प्रभावित भइरहेका छन् । खर्च भइरहने शैक्षिक प्रकृया र उपलब्धि मापन नहुने अवस्थामा हामी रहेका छौँ । यसमा सुधार कसरी त ?
सुधारका लागि मोटामोटी रुपमा दुइ उपाय सतहमा देखिन्छन् । पहिलो, कोभिड १९ कै बीचमा विविध उपाय अवलम्बन गरी शिक्षक विद्यार्थी बीच संबाद जारी राख्ने । दोश्रो, कोभिड १९ सकिए पछिमात्र हाम्रा कृयाकलाप सुचारु गर्ने । दोश्रो उपायले हामीलाइ उन्नति होइन कि अधोगतितर्फ लैजाने निश्चित छ ।
शैक्षिक प्रकृया सञ्चालन र उपलब्धि मापन कसरी गर्ने त ?
तथ्याङ्कले देखाएअनुसार मुलुकमा कोभिड १९ बढ्दो क्रममा छ । दोश्रो लहर सकियो सकिएन थाहा भएन तर विज्ञहरुले तेस्रो लहरको चेतावनी दिइरहेका छन् । माथि नै भनियो कि यस बीचमा पनि पुजीँगत बाहेकका चालु रकम खर्च गर्ने क्रममा खासै रोकावट आएको छैन् । कुनै राजनैतिक दलको भेला रोकिएको छैन् । विभिन्न खालका आन्दोलनमा कार्यक्रम रोकिएका छैनन् । अन्यायमा परेपछि आन्दोलन नभए के हुन्छ त ? भन्ने प्रश्न पनि आउला नै । तर मुलुकमा शैक्षिक प्रकृया रोकिए जस्तै नै छ ।
किन यस्तो ? सरकारले गर्न नसकेको भन्ने उत्तर आइहाल्छ । ठूला काम त सरकारले नगरेको होला । ढँग पनि पुगेन होला । तर अन्य सरोकारवाला पक्षले गर्न सक्ने काम पनि रोकिएका छन् । विद्यार्थीले जति अङ्क पाउनु पर्थ्यो सो भन्दा बढि अङ्क दिन पनि रोकिएको छैन । गत वर्षको अनुभवका आधारमा यस वर्ष केहि सुधार हुन्छ कि भन्यो सो पनि देखिएन । विद्यार्थीलाइ सहयोग गर्न सकिएको छैन् । यसो भनेर सबैले नगरेको भन्ने पनि होइन । नगरेकाहरुको हकमा मात्र भन्न खोजिएको हो ।
अहिलेको प्रमुख चुनौती भनेकै शैक्षिक प्रकृयालाई प्रभावकारी कसरी बनाउने ? उपलब्धि मापन कसरी गर्ने भन्ने हो ? परिस्थिति कठिन भए पनि सिमित कृयाकलाप कसरी शुरु गर्ने ? भन्ने हो ।
अरु मुलुकले गरेको अभ्यासबाट केहि सिक्न सकिन्छ । तर हुबहु रुपमा लागू गर्न सकिदैन । शिक्षक र विद्यार्थीको बीचमा संबाद कसरी शुरु गर्ने ? सबैले उत्तर खोज्ने प्रश्न यहि होला । एकले अर्कोलाइ देखाएर उम्कने भन्दा पनि सामूहिक रुपमा उत्तर खोजि गरी कार्यान्वयनमा ल्याउनु अहिलेको खाँचो हो । एकअर्काको काममा सहयोग र समन्वय चाहिएको छ ।
वास्तविकता के हो भने विद्यालय र शिक्षक नै बढिभन्दा बढि जवाफदेहीन्नु पर्ने देखियो । यसो भनेर अरुले जे गरेपनि हुन्छ भन्ने होइन । शैक्षिक प्रणालीको महत्वपूर्ण अङ्ग विद्यालयमा हुने जवाफदेहीताले गर्न नगर्नमा धेरै प्रभाव पार्छ मात्र भन्न खोजिएको हो । अबका दिनमा स्थान विशेषभइ शैक्षिक कृयाकलाप तय गर्नुपर्ने अवस्था आएको छ । शैक्षिक क्यालेन्डर कायम राख्न र सिकाइ न्यूनतम रुपमा भए पनि हासिल गराउन हाम्रा शैक्षिक प्रकृया कुनै न कुनै रुपमा सुचारु गर्नुको विकल्प छैन । भाइरस सकिएपछि शैक्षिक प्रकृया सुचारु गरौँला भन्ने अवस्थामा हामी छैनौँ ।
कोभिड १९ को त्रास कहिले सकिन्छ भन्नेमा अनुमान गर्न पनि कठिन बन्दै गएको छ । त्रास नै नसकिए पछि यसको असर र प्रभाव कति होला अहिल्यै अनुमान गर्न हतारो हुन्छ । यसको त्रास रहेसम्म वाच्ने कसरी र अन्य कृयाकलापमा लाग्ने कसरी ?
अबका दिनमा यी दुवै पक्षलाइ सँगै लैजानु पर्छ होला । तर एउटा सत्य के हो भने कोभिड १९ को समाप्ती पछि पनि मानव जीवन रहन्छ । मानिसका यावत् क्रियाकलाप चालु रहन्छन नै । भलै यस्ता क्रियाकलापमा ठूलो फेरबदल आउन पनि सक्लान् । शायद अबको दिनमा यससँगै मानव जीवन अगाडि बढाउनु पर्ने हुन सक्छ । पुरानो अवस्थामा झैँ नर्मल अवस्था आउन त समय लाग्छ होला । अब हामिले बाच्ने संसार भनेको न्यू नर्मल होला । न्यू नर्मल संसार, जुन अहिलेको भन्दा फरक हुनसक्छ । भनाईको अर्थ यसको भय र त्रासका बीच नै हाम्रा शैक्षिक क्रियाकलाप अगाडी बढाउन पर्छ नै । यसो भनेर भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गरौँ भन्ने होयन । अवस्था अनुसारका विकल्प खोजी सोमा अभ्यस्त बन्दै जानुपर्छ भन्ने नै हो ।
कोभिड १९ मा छोटो सप्लाइ चेनले काम गर्यो । जुन वस्तु वा सेवाको सप्लाइ चेन छोटो थियो सो कम प्रभावित हुनपुग्यो । तर लामो सप्लाइ चेन बढि प्रभावित भयो । यो महत्वपूर्ण सिकाइ शिक्षा प्रणालीमा लागू हुन सक्छ । विद्यालय शिक्षाको सन्दर्भमा लागु हुन सक्छ । विद्यालय समुदायको नजिकै भएमा शैक्षिक प्रक्रिया संचालनका लागि विकल्प धेरै हुन सक्ने रहेछन् । विद्यार्थीलाई विद्यालय बोलाउने, शिक्षक नै समुदायमा जाने वा आलोपालो दुवै उपायको अवलम्बन गर्ने आदि हुनसक्छन् । कक्षाहरुलाई पालो गरेर विद्यालयमा बोलाउन पनि सकियो । यस अवधारणा बमोजिम आफ्ना छोराछोरीलाइ नजिककै विद्यालयसँग जोड्ने वा जोड्न लगाउने उपाय पनि हुनसक्छ ।
उच्च शिक्षाका क्षेत्रमा अबका दिनमा प्रयोग गर्ने भनेको भर्चुअल, अनलाइन वा दूर शिक्षामा आधारित पद्धति नै होला । पाठहरु अनलाइन वा वेभ पोर्टलमा राख्न सकिन्छ, जुन सामग्रीहरु विद्यार्थीहरुले अनुकुल समयमा प्राप्त गरेर अध्ययन गर्न सकुन । प्रयोगात्मक कक्षा आवश्यक पर्ने विषयहरुमा शुरुमा सैद्धान्तिक विषयको पठनपाठन हुनसक्छ । पछि अवस्था हेरेर अभ्यास गराउने तालिका बनाउन सकिन्छ ।
भौतिक रुपमा उपस्थित भइ दिने परीक्षाको अब विकल्प खोज्नुपर्छ । विगतका अभ्यासबाट सिकेर त्यसका कमी कमजोरी केलाइ सुधार गर्नु पर्छ । खुला पुस्तक प्रणालीलाइ अवलम्बन गर्न सकिन्छ । यसका लागि अहिल्यै देखि तयारी गर्नुपर्छ । संघीय तहमा सबै कक्षा र विषयका स्तरकृत प्रश्नपत्र बनाइ उपलब्ध गराउने र स्थानीय तहमा विद्यालयले यस्ता परीक्षा लिने विधिको प्रयोग शायद अबको उपाय हुनसक्छ ।
विद्यार्थीको पठनपाठनमा अभिभावकलाइ पनि सहभागी बनाउनै पर्ने देखियो । अब दुवैको बीचमा सहकार्य आवश्यक छ । यसका लागि अहिले भएको भन्दा फरक ढाँचा अवलम्बन गर्नुपर्छ । शिक्षक र अभिभावकको बीचमा समन्वय गरेर दुवैलाइ उपयुक्त हुने समयमा कक्षा कृयाकलाप सञ्चालन गर्ने परिपाटी अबलम्बन गर्नुपर्छ । तसर्थ सबै अभिभावकलाई यस प्रकृयामा समावेश गराउन अब ढिला गर्नु हुदैन् । डा. हरिप्रसाद लम्साल, सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिँहदरबार, काठमाडौँ । यसमा व्यक्त बिचार लेखकका निजी मत हुन । यसले संस्थागत प्रतिनिधित्व गर्दैन् ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.