
काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले आयोडिनयुक्त नूनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पार्ने प्रभाव विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १ मा उक्त अन्तर्कृया कार्यक्रम गरेको हो ।
राजधानी काठमाण्डौंमा विहिवार आयोजित सो गोष्ठीमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख लिला बिक्रम थापाले प्रमुख वक्ताका रुपमा बोल्नुहुँदै आयोडिन दैनिक सेवन गर्नुपर्ने अति सुक्ष्म पोषक तत्व भएकाले यसको उपभोग गर्न छोडन नहुने जानकारी दिनुभयो ।
५ दशक अघि नेपाल सरकारले क्याप्सुल र इन्जेक्सनबाट नागरिकलाई आयोडिन दिने गरेकोमा गलगाँड, वामपुडके, लुलो लङ्डो हुने आदी समस्या अपेक्षित रुपमा हल गर्न नसकिएकाले सन १९९८ देखी नुनमा आयोडिन मिसाएर वितरण गर्ने थालिएको र त्यसपस्चात ढिके नुनलाई विस्थापित गरि प्याकेट नुनमा मिसाएर नेपाल भर कर्पोरेशनमार्फत पुर्याउने योजना लिई काम गरेकामा गहन उपलब्धी प्राप्ती भएको जिकिर समेत उहाँले गर्नुभयो । पिसाब जाँचबाट आयोडिनको उपभोग बारे जानकारी प्राप्त गर्न सकिने जानकारी दिदै थापाले भन्नुभयो ’२०१६ मा स्कुल पढ्ने बालबालिका र १५ देखि ४९ वर्षका महिलामा आयोडिन परिक्षण गरेर हेर्दा बालबालिकामा ३०० म्यकसीमम प्वाइन्ट भन्दा १४ प्वाइन्ट बढी आएको देखिन्छ । पहिला ९० प्रतिशत मानिसले ढिके नुन प्रयोग गर्थे अहिले त्यो अवस्था छैन’ ।
उहाँले हामीले जति धेरै परिकार खान्छौँ त्यति नै नुन खाने हुँदा खानपिनमा ध्यान दिदा आयोडिनबाट कुनै खालको असर नगर्ने जनाउदै भन्नुभयो ‘हामीले जति धेरै परिकार खान्छौ त्यति नै धेरै नुन खान्छौँ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा नुनको कमीले विभिन्न स्वास्थ्यमा समस्या आएको छ । नुन बढी हुँदा समस्या आएको छैन । तर नुन धेरै हुँदा के हुन्छ भन्ने पनि सोच्न पर्ने अवस्था आएको छ । १ चम्चा आयोडिन भए हुन्छ । नुन र आयोडिनमा धेरै फरक रहेको छ‘। नुन बढी खायो भने थाइराइड हुन सक्छ भन्ने बिषय पुष्टी नभएको बिषय रहेको जिकिर समेत उहाँले गर्नुभयो । हाल बिक्री भएको नुनमा आवश्यकताभन्दा बढी आयोडिन भएको पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म नभेटिएको उहाँको भनाइ थियो ।
पोषण शाखा प्रमुख थापाले नुनमा आयोडिन कमी भएर हुने असरको तुलनामा आयोडिन अधिक हुँदा हुने असर असाध्यै नगन्य हुने भन्दै उहाँले भन्नुभयो, “नुनमा आयोडिन कम हुँदा डरलाग्दो अवस्था भएको त हामीले केही दशकअगाडि भोगेर आएका हौँ तर नुनमा अधिक आयोडिन हुँदा भएका असर त कहीँ कतै पुष्टि भएको देखिँदैन ।” बरु पछिल्लो पटक हाम्रो खाना खाने बानीमा परिवर्तन हुँदा नुनको अधिक उपभोगसँगै आयोडिनको मात्रा पनि बढी भएर त्यसले अर्को असर गरेको हुन सक्छ त्यसैले अब हाम्रो खाना खाने बानीमा सुधार गर्नुपर्ने सुझाव उहाँको थियो ।
‘नेपाल समुद्रदेखि धेरै टाढाको देश भएकाले नेपाली माटोमा आयोडिनको मात्रा कम छ, हाम्रो शरीरलाई आयोडिन आवश्यक पर्छ, त्यसैले नेपालले हाल उत्पादन गरेर बिक्री गर्ने नुनमा आयोडिनको मात्रा ठिक छ’ उहाँले थप स्पष्ट पार्दै भन्नुभयो । नेपालमा प्रयोग गर्ने आयोडिनयुक्त नुनको बाहिर हल्ला भए जस्तो अधिक आयोडिन मात्रा भएर उच्च रक्तचाप र थाइराइड बढेको भन्नेमा सत्यता नभएको बताउनुभयो ।
साल्ट ट्रेडिङले कारोबार गर्ने नुनमा सरकारले तोकेअनुरुप सहि मात्रामा आयोडिन मिसाईएको बताउनुभएका उहाँले आयोडिनयुक्त नुनको सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि काम गर्दै आएको र आयोडिन मन्थ पनि सरकारकै कार्यक्रम रहेकोले यस अवधिमा जनचेतना जगाउन राष्ट्रव्यापी रुपमा जनचेतनामुलक कार्यक्रमहरु गर्ने गरिएको जनाउनुभयो । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन आयोडिन मन्थ कार्यक्रम राष्ट्रव्यापी रुपमा गरिदै आएको चर्चा गर्नुभएका थापाले बजारमा आयोडिनयुक्त नुनका संबन्धमा अनर्गल कुप्रचार भैरहेको प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र नूनमा सहि मात्रामा आयोडिन मिसाईएकोले कति मात्रा खाने भन्नेमा ख्याल राख्दै निर्धक्कले सेवन गर्न आम नागरिकलाई अपिल समेत गर्नुभयो ।
नेपालको हकमा नुनमा आयोडिनको अधिकतम मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठिक र बेठिक भन्ने विषयलाई स्पष्ट पार्नका लागि स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा स्तर निर्धारणको प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको बारेमा भ्रम छरेर ६० रुपैया पर्ने सिरे नुनलाई ३०० रुपैया किलो सम्ममा बेच्दै दाम कमाउन पल्केका कालाबजारियाले उपभोक्ता ठग्ने काम गरेको दाबी गर्नुभयो । आयोडिनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी भूमिका खेल्दै आएको आफुले पाएको उल्लेख गर्नुहुँदै उहाँले केही कालाबजारियाका कारण उपभोक्ताहरुमा भ्रम पर्न गएको पनि उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने विकृतिलाई रोक्न कर्पोरेशनले सरकारको नीति निर्देशन अनुसार सरकारकै आयोडाईजेसन कार्यक्रम अन्तर्गत काम गर्दै आएको जनाउनुहुँदै भोलीका दिनमा पनि सरकारको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोडिन ग्लोबल नेटवर्कका देशिय सल्लाहाकार मचाराजा महर्जनले सरकार मातहत वितरित नुनबाट नभई बजारमा बिक्री हुने तयारी खानाका कारण स्वास्थ्य समस्या निम्तिएको उल्लेख गर्नुभयो । पोषणविद् समेत रहनुभएका महर्जनले विश्वका विकसित देश अमेरिका र स्विट्जरल्यान्डले एक सय वर्षपहिला र नेपालले ५० वर्षदेखि आयोडिन मिसाएर बिक्री गर्न थालेको जानकारी दिनुभयो ।
युनिसेफका न्युट्रिसन अफिसर नविन पौडेलले नेपालमा पछिल्लो पटक नुनमा आयोडिन बढी भएर जनस्वास्थ्यमा असर गरेको भन्ने हल्ला बाहिर आएको तर यसमा सत्यता नभएको बताउनुभयो । नुनमा आयोडिन बढी भएर भन्दा नुनको बढी उपभोग गर्ने बानीले जनस्वास्थ्यमा असर परेकाले यस विषयमा सचेत गराउनुपर्ने उहाँको भनाइ छ । पौडेलले पोषक तत्व बारे जानकारी लिन सबैमा आग्रह गर्नुहुँदै चिकित्सकको सल्लाह लिन सुझाव समेत दिनुभयो ।
गोष्ठिमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौं महानगरपालिका आदी कार्यालयका प्रतिनिधि समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा मनाइने प्रचलन अनुसार नेपालभर फेब्रुअरी १ तारिक वा बिहीबारदेखि आयोडिन मन्थका कार्यक्रम सुरु गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, साल्ट टे«डिङ कर्पोरेसन, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियासिल संस्थाले देशव्यापी रूपमा आयोडिन नुनको प्रयोग र यसको महत्वबारेमा सचेतनाका कार्यक्रम सार्वजनिक गरेका छन् । डब्लुएचओको मापदण्ड अनुसार सन् १९९८ देखी सालदेखि नेपाल सरकारले आमनेपालीले उपभोग गर्ने नुनमा आयोडिन मिसाएर बिक्री गर्न थालेको हो । यो जिम्मा नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ । विगत ६० वर्षदेखि सरकारले कर्पोरेसनमार्फत दुर्गम क्षेत्रमा ढुवानी अनुदानसमेत दिई बिक्री वितरण गर्दै आएको छ ।
आयोडिन सजिलैसँग उडेर जाने भएकाले नुन उत्पादन गर्दा आयोडिनको मात्रा ५० पिपिएम, प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पिपिएम आयोडिन छ भने उपभोक्तासम्म पुग्दा १५ पिपिएम हुन्छ भनेर यस प्रकारको मापदण्ड बनाइएको हो ।
त्यसो त विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पिपिएम हुनुपर्ने मापदण्ड तोकेको छ । बढी हुनु र कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक भनिएको छ । नेपालको भौगोलिक अवस्था, प्याकेजिङ, ढुवानी गर्दा समयलगायतका विषयलाई ध्यानमा राखेर आयोडिन छिटै उडेर जाने सम्भावना भएकाले उत्पादनदेखि भान्सासम्मको छुट्टाछुट्टै मापदण्ड तोकिएको बताउने गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिन नुनको मापदण्डमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत, पानी नघुल्ने प्रदार्थ एक प्रतिशत, सोडियम क्लोराइडबाहेक पानीमा घुलनशील पदार्थ तीन प्रतिशत हुनुपर्ने उल्लेख छ ।
नेपालीले शरीरलाई आवश्यकताभन्दा दोब्बर नुनको उपभोग गर्ने गरेको तथ्य बाहिर ल्याइएको छ । डब्लुएचओका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम नुन आवश्यकता पर्ने भनेकोमा नेपालीले भने औसतमा ९.५ ग्राम उपभोग गर्ने गरेको पाइएको छ । नुनको बढी प्रयोग गर्नेबित्तिकै आयोडिनको मात्रा पनि बढ्ने र सोडियम क्लोराइडको मात्रा पनि बढी हुने भएकाले यसले स्वास्थ्यमा अर्को असर गर्ने हुँदा आयोडिन नुनको दिनहुँ तर थोरै प्रयोग गर्नु पर्छ ।