Fast Nepal News

सुन मात्र होइन, त्रिभुवन विमानस्थलबाट गाँजा पनि तस्करी : एकैपटक ५५ केजी अमेरिकी गाँजा बरामद

banner single news

१ पुष,काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई कमजोर आँक्दै पटक–पटक सुन तस्करी हुँदै आएकामा एकैपटक ठूलो परिमाणमा तस्करीको गाँजासमेत भित्रिएको छ । एक सय आठवटा कार्टुनमा भित्रिएको ५५ केजी अमेरिकी गाँजा बिहीबार विमानस्थलबाटै बरामद भएको हो ।

विगतमा थोरै–थोरै परिमाणमा गोश्वारा हुलाकमार्फत अमेरिकी गाँजा नेपालमा तस्करी हुँदै आएको थियो । कतार एयरवेज कार्गोमार्फत विमानस्थल भित्र्याइएको गाँजा प्रहरीको कुकुरले पत्ता लगाएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले ‘म्युजिक स्टिम’भित्र लुकाएर ल्याइएको ५५ केजी अमेरिकी गाँजा बरामद गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए । ‘कार्गोमा शंकास्पद वस्तु आउँदै गरेको सूचना प्रहरीलाई थियो । प्रहरी अलर्टमा थियो । भन्सारमा उत्रिएपछि कुकुरमार्फत कार्गो चेकजाँच भयो । कार्गोमा लागुऔषध रहेको लगभग पक्का भयो । खोलेर हेर्दा एक सय आठवटा कार्टुनभित्र गाँजा फेला पर्‍यो,’ उनले भने, ‘गाँजा अमेरिकाबाट ल्याइएको हो । तौल जाँच गर्दा ५५ केजी खुलेको छ । थप अनुसन्धान जारी छ ।’

प्रहरीले गाँजा अमेरिकाबाट ल्याइएको खुले पनि कहाँ लान लागिएको थियो भन्ने अनुसन्धानकै विषय रहेको जनाएको छ । तस्करीमा संलग्न कोही पनि अभियुक्त पक्राउ नपरेकाले गाँजा कसले, कुन प्रयोजनमा, कहाँ लैजान ल्याएको भन्ने नखुलेको एसएसपी थपलियाले बताए ।

विगतमा हुलाकमार्फत आउँथ्यो गाँजा
प्रहरीले यसअघि २० भदौ ०७९ मा दुई केजी गाँजा बरामद गरेको थियो । उक्त गाँजा अमेरिकाको क्यालिफोर्नियाबाट गोश्वारा हुलाक हुँदै तस्करी गरेर पठाइएको थियो । गाँजा बरामदसँगै प्रहरीले काभ्रे मन्डन–देउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राई, काठमाडौं खुसिबुका ३० वर्षीय राहुल क्षेत्री र नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठलाई पनि पक्राउ परेको थियो । अनुसन्धानकै क्रममा राईकै नाममा पुनः अमेरिकको क्यालिफोर्नियाबाट अर्को पार्सल पनि आइपुगेको थियो । उक्त पार्सलमा सर्ट, जिन्स, जोली रेन्चर र म्यागेजिनसँगै तीन सय ३० ग्राम गाँजा पनि भेटिएको थियो ।

हुलाक नै प्रयोग गरेर ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेट नेपालमा तस्करी भएको थियो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजामिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले गुप्तालाई चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट पक्राउ गरेको थियो । उनको कोठा चकेजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सय ‘ट्याब्लेट’समेत फेला परेको थियो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएका थिए ।

४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी भएर ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल आएको थियो । यो तस्करीमा पनि हुलाक नै प्रयोग भएको थियो । क्यानडा हुँदै फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाएर ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल– १० का ३८ वर्षीय अच्युत त्रिपाठी पुगेका थिए । पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्कर भएर नेपाल आएको थिएन ।

Inside Article Ads

के छ अमेरिकी ‘ब्रिड’को गाँजामा ?
११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रासायनिक अनुसन्धान भयो । यस क्रममा चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायन सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो जुन गाँजामा प्रशस्त मात्रामा पाइन्छ । अमेरिकी ‘ब्रिड’को गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ ।

लगुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अप्रेसनमध्ये पाँच अप्रेसनमा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो ।

अमेरिकामा गाँजा : प्रतिबन्ध र फुकुवा 
गाँजाको दुर्व्यसनी बढ्न थालेपछि अमेरिकाले ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट, १९७०’ ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो । तर, तीन वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गर्‍यो । क्यालिफोर्नियाले १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाखेती सुरु गरेको थियो । कोलोराडो र वासिङटन राज्यले त २०१२ देखि ०.३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो ।

अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला–ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्ब, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् ।\

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.