Fast Nepal News

सर्नेभन्दा नसर्ने रोगको सिकार बन्दै नेपाली : कुल जनसंख्याको ५.२२% मा नसर्ने रोग

banner single news

६ पुष,काठमाडौँ —नेपालमा नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो ।

अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नसर्ने रोगहरूमध्ये उच्च रक्तचापको समस्याबाट प्रभावितको संख्या सबैभन्दा धेरै छ । ०७९/८० मा ६ लाख ३० हजार दुई सय ५६ जना यसबाट प्रभावित भएका थिए ।

दोस्रोमा मधुमेहबाट पीडित हुने धेरै देखिएका छन् । मधुमेहबाट तीन लाख १२ हजार तीन सय ४२ जना पीडित भई अस्पताल पुगेको देखिन्छ । त्यसपछि श्वासप्रश्वाससम्बन्धी समस्याबाट एक लाख ८५ हजार आठ सय ४७ जना, आज्माबाट एक लाख २९ हजार पाँच सय एकजना प्रभावित भई अस्पताल पुगेको तथ्यांकमा उल्लेख छ ।

क्यान्सरबाट ६७ हजार तीन सय ८२ जना, कार्डियोभास्कुलरसम्बन्धी समस्याबाट १९ हजार दुई सय ६२ जना, मिर्गौलासम्बन्धी समस्याबाट २४ हजार पाँच सय ३७ जना प्रभावित भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसबाहेक नौ हजार नौ सय ८४ जना रेयुम्याटिक मुटुरोगबाट, पाँच हजार पाँच सय ५१ जना स्ट्रोकबाट, पाँच हजार नौ सय २२ जना हृदयाघातबाट र सिकलसेललगायतका रगतसम्बन्धी रोगबाट ६ सय ६५ जना प्रभावित भएको विभागको तथ्यांक छ । यसै वर्ष मानसिक समस्याबाट पीडितको संख्या ५५ हजार आठ सय ५३ थियो ।

स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि समस्या बनेको छ : डा. अरुण मास्के, मुटुरोग विशेषज्ञ
प्रदूषण, अस्वस्थ खानपान र अस्वस्थ बन्दै गएको दैनिकीका कारण विश्वभरि नै नसर्ने रोग अहिलेको मुख्य समस्या हो । तर, नेपालको सन्दर्भमा त्यसका अलावा स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्नुको प्रमुख कारण बन्दै गएको देखिन्छ । 

विशेषज्ञ भन्छन्– उपचारमा न्यून पहुँचले समस्या बढाउँदै छ
नसर्ने रोगको मुख्य कारक अस्वस्थकर खानपान र रहनसहन भए पनि नेपालको सन्दर्भमा स्वास्थ्य सेवामा पहुँचको कमीले अवस्था झन् भयावह बन्दै गएको मुटुरोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन् । उनी भन्छन्, ‘ प्रदूषण, अस्वस्थ खानपान र अस्वस्थ बन्दै गएको दैनिकीका कारण विश्वभरि नै नसर्ने रोग अहिलेको मुख्य समस्या हो । तर, नेपालको सन्दर्भमा त्यसका अलावा स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्नुको प्रमुख कारण बन्दै गएको देखिन्छ ।’ डा. मास्केका विचारमा आममानिसमा रोगप्रतिको सचेतना र परीक्षण गराउने दर बढेकाले प्रभावितहरूको संख्या पनि बढी देखिँदै आएको हुन सक्छ ।

बाल क्यान्सर रोग चिकित्सक सुष्मा गुरुङ पनि परीक्षणको दर बढी भएकाले पनि प्रभावितको संख्या बढेको हुन सक्ने बताउँछिन् । ‘बालबालिकामा समेत क्यान्सर पत्ता लाग्ने दर बढ्दै गएको छ । अन्यको तुलनामा बालबालिकामा समयमा परीक्षण र उपचार गर्ने दरसमेत बढेकाले क्यान्सर प्रभावितको संख्या बढी देखिएको हो,’ डा. गुरुङ भन्छिन् ।

Inside Article Ads

यसबाहेक, पछिल्लो समयमा सिकलसेल एनिमिया, थालेसेमियाजस्ता रगतसम्बन्धी समस्यासमेतका बिरामी अस्पताल पुग्ने दर बढ्न थालेको वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुर बताउँछिन् ।

मृत्युदर पनि उच्च
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको र त्यसको अर्को वर्ष प्रकाशित एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको थियो । उक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०१९ मा कुल एक लाख ९३ हजार तीन सय ३१ मृत्यु भएकामा २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको थियो ।

जसमध्ये कार्डियोभास्कुलर रोगबाट २४ प्रतिशत र इस्क्यामिक हर्ट डिजिजबाट १२.३ प्रतिशत, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगबाट १६.३ रहेको पाइएको थियो ।त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो ।

सरुवा रोगको अवस्था
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ०७९/८० मा डेंगु संक्रमणबाट ५४ हजारभन्दा बढी प्रभावित भए । सोही वर्ष झाडापखालाबाट सात लाख १७ हजार एक सय ९० र सबै खालको इन्फ्लुएन्जाबाट दुई लाख दुई हजार दुई सय ९४ जना संक्रमित भएका छन् । त्यस्तै, स्क्रब टाइफसबाट नौ हजार दुई सय ४३, मलेरियाबाट दुई सय ९० र कालाज्वरबाट दुई सय १३ जना प्रभावित भएको महाशाखाको तथ्यांक छ ।

सोही वर्ष कोभिड संक्रमितको भने एकिन तथ्यांक छैन । कोभिड महामारी सुरु भएयता हालसम्म देशभर ११ लाख ५७ हजार पाँच सय २२ जना संक्रमित भएकामा ०७९/८० मा संक्रमितको संख्या निकै कम छ ।

नसर्ने रोग रोकथामका लागि सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ लागू गरेको छ । जसअन्तर्गत स्क्रिनिङ बढाउने, उपचारमा पहुँच बढाउने र निश्चित रोगको उपचारका लागि उपचार खर्च र भत्ताको समेत व्यवस्थालगायतका कार्यक्रम बढाउँदै लगेको स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ ।

विश्वभरि नै नसर्ने रोगको भार बढ्दै
नेपालमा मात्रै नभई विश्वभरि नै नसर्ने रोगबाट प्रभावितको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष ४१ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगको कारणले भइरहेको छ । जुन रोगबाट हुने मृत्युको झन्डै ७४ प्रतिशत हो । यसबाहेक प्रत्येक वर्ष झन्डै १७ मिलियन जनसंख्या ७० वर्षको उमेरभन्दा अर्थात् औसत आयुभन्दा पहिला मरिरहेको छ भने न्यून र मध्यम आयु भएका देशहरूमा ८६ प्रतिशत अकाल मृत्यु भइरहेको पछिल्लो तथ्यांकले देखाउँछ ।

अस्वस्थ जीवनशैली र उपचारको अभावमा न्यून आयु भएका देशहरू नसर्ने रोगबाट बढी प्रभावित भइरहेका छन् । डब्लुएचओको पछिल्लो एक तथ्यांकअनुसार नसर्ने रोगबाट हुने मृत्युको ७७ प्रतिशत मृत्यु कमजोर आर्थिक अवस्था भएका देशमा भइरहेको पाइएको हो । जसमध्ये सबैभन्दा बढी कार्डियोभास्कुलर अर्थात् मुटुसम्बन्धी समस्याका कारण भइरहेको हो ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.