Fast Nepal News

नेपालगन्जमा आउटब्रेक भएको दादुरा ६ महिनापछि काठमाडौंमा

१६ जिल्लाका ९४३ संक्रमितमध्ये एकको मृत्यु, ९३८ निको भए, काठमाडौंमा चार बालबालिका आइसोलेसनमा

banner single news

२८ जेठ, काठमाडौँ – गत १२ पुसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ७ का ६ बालकमा पुष्टि भएसँगै फैलिएको दादुरा ६ महिनापछि राजधानी काठमाडौं भित्रिएको छ । बाँके हुँदै काठमाडौंसम्म आइपुग्दा १६ जिल्लाका ९४३ संक्रमित भएकामा एकको मृत्यु भएको छ । ९३८ निको भएका छन् भने चारजना आइसोलेसनमा छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको तथ्यांकअनुसार हाल अन्य जिल्लामा नियन्त्रणमा रहेको दादुरा काठमाडौंमा भने चार बालबालिकामा पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिकास्थित ज्योयो कुटुम्पा गुम्बामा बस्ने बालबालिकामा बुधबार संक्रमण पुष्टि भएको हो । उनीहरू आइसोलेसनमा छन् । विभागले काठमाडौं उपत्यकामा थप केस हुन सक्ने आशंकामा सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बालबालिकामा निगरानी बढाएको छ ।

‘काठमाडौंका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय केसको खोजी जारी छ । सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शंकास्पद केस देखिए नगरपालिका र स्वास्थ्य सेवा विभागमा रिपोर्ट गर्न अनुरोध गरिएको छ,’ परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठले भने ।

पहिलोपटक १२ पुसमा नेपालगन्ज उपमहानगरपालिका– ७ का ६ बालकमा दादुरा पुष्टि भएको थियो । त्यसको आठ दिनपछि २० पुसमा नेपालगन्ज उपमहानगरपालिका– ५ का दुई वर्षीय बालकको मृत्यु भएको थियो । बाँकेपछि अर्घाखाँची, बाजुरा, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत हुँदै काठमाडौंमा दादुरा भित्रिएको हो । दादुरा एक संक्रमितबाट एकै समयमा १८ जनासम्ममा फैलिन सक्ने चिकित्सकहरू बताउँछन् । बाँकेमा सबैभन्दा धेरै तीन सय २२ मा दादुरा संक्रमण देखिएको सरकारी तथ्यांक छ ।

त्यस्तै, महोत्तरीमा एक सय पाँच, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषा र कपिलवस्तुमा २३–२३, बाजुरमा १८, अर्घाखाँचीमा ११ मा दादुरा भएको रेकर्ड छ ।

संक्रमण बढेसँगै जोखिममा रहेका नौ जिल्लामा खोप तीव्र 
दादुरा संक्रमण फैलिन थालेपछि जोखिम रहेका नौ जिल्लामा बिहीबारदेखि खोप दिन सुरु गरिएको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान थालिएको हो । पहिलो डोज लगाए पनि अधिकांश बालबालिकामा दोस्रो डोज नलगाएको पाइएकाले खोप अभियानलाई तीव्र पारिएको खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । ‘संक्रमण देशका विभिन्न जिल्लामा देखिएकाले खोप अभियान बढाउनुको विकल्प छैन,’ उनले भने, ‘खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई तालिम दिइरहेका छौँ ।’

नौ जिल्लाका ६ महिनादेखि १५ वर्षमुनिका १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकामा दादुराविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ । विद्यालय तथा स्वास्थ्य संस्थाबाट असार पहिलो सातासम्म खोप दिइसक्ने योजना छ । यसअघि दादुरा फैलिएका बाँके, कैलाली, सुनसरी, महोत्तरीका प्रभावित क्षेत्रका बालबालिकालाई खोप दिइएको थियो ।

बाँकेमा तीन महिनामै ३२२ मा दादुरा, एकको मृत्यु : कैलालीमा चार लाख लक्षित खोप अभियान

Inside Article Ads

गत हिउँदमा बाँकेमा दादुरा संक्रमणले व्यापक रूप लिएको थियो । पुस, माघ र फागुनमा तीन सय २२ बालबालिकामा संक्रमण पुष्टि भएकोमा एकको ज्यान नै गएको थियो । २० पुसमा नेपालगन्ज उपमहानगरपालिका– ५ का दुई वर्षीय बालकको मृत्यु भएको हो ।

पहिलोपटक १२ पुसमा नेपालगन्ज उपमहानगरपालिका– ७ का ६ बालकमा दादुरा पुष्टि भएको थियो । नेपालगन्जपछि जिल्लाका जानकी, खजुरा, कोहलपुर, बैजनाथ, राप्तीसोनारी र नरैनापुरमा दादुराको प्रकोप फैलिएको थियो । दादुराबाट मृत्यु नै भएपछि २२ पुसबाट नेपालगन्जमा दादुराविरुद्धको खोप लगाउन थालिएको थियो । एक लाख ७३ हजार तीन सय २२ बालबालिकालाई दादुराविरुद्धको खोप दिएपछि फागुन अन्तिमदेखि बाँकेमा दादुरा नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका दादुरा रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । ‘खोप लगाएपछि दादुरा नियन्त्रणमा आएको छ,’ उनले भने, ‘पछिल्लो समय दादुरा संक्रमण देखिएको रिपोर्टिङ भएको छैन ।’

नेपालगन्ज उपमहानगरपालिकाका दादुरा रोग फोकल पर्सन जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले पनि नेपालगन्जका सबै बालबालिकालाई दादुराको खोप लगाइएकाले अहिलेलाई महामारीको खतरा टरेको बताए । ‘लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप दिइएको छ । अहिलेलाई महामारीको खतरा टरेको छ,’ उनले भने । नेपालगन्जमा ४३ हजार बालबालिकालाई दादुराविरुद्धको खोप दिने लक्ष्य लिएकोमा ४६ हजार बालबालिकालाई खोप दिइएको उनले बताए ।

त्यस्तै, पुसयता कैलालीमा ४७ बालबालिकामा दादुरा देखिएपछि जिल्लाका चार लाखलाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु भएको छ । ११ पालिकामा २५ जेठबाट दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सुरु भएको हो । अन्य दुई पालिकामा एक–दुई दिनमै अभियान थाल्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

असार पहिलो सातासम्म सञ्चालन हुने अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका करिब दुई लाख चार हजार बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए । सुरुमा सबै विद्यालयमा पुगेर खोप अभियान सञ्चालन गरिने र छुटेका बालबालिकालाई अन्तिममा स्वास्थ्य संस्थाबाट पनि खोप लगाइने उनले बताए । उनका अनुसार जिल्लाका ४७ संक्रमितमध्ये अधिकांश यसअघि दादुराविरुद्धको खोप नलगाएका बालबालिका थिए ।

चिकित्सक भन्छन्– शतप्रतिशतमा खोप नलगाउँदासम्म दादुरा उन्मूलन गाह्रो हुन्छ
सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने नेपालको लक्ष्य थियो । तर, वर्षको सुरुमै बाँकेमा संक्रमण आउटब्रेक भएपछि उक्त लक्ष्य २०२६ सम्म सारिएको छ । दादुरा उन्मूलनका लागि लक्षित समूहका शतप्रतिशतलाई पूर्ण खोप दिनुपर्छ । तर, अहिलेसम्म दादुरा निवारणका लागि आवश्यक अर्थात् ९५ प्रतिशतले पनि पूर्ण खोप पाएका छैनन् । स्वास्थ्य सेवा विभाग खोप शाखाको तथ्यांकअनुसार ९२.८ प्रतिशतले मात्र दादुरा–रुबेलाविरुद्धको पूर्ण खोप लगाएका छन् । जन्मिएको नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाएपछि मात्रै पूर्ण खोप हुन्छ । यो अवधिमा लगाउन छुटेकालाई २४ महिनाभित्र दुवै मात्रा दिन सकिने चिकित्सकहरू बताउँछन् ।

‘धेरै व्यक्तिमा पूर्ण खोप लगाइयो, तर थोरैमा मात्रै छुट्यो भने पनि दादुरा फैलिने जोखिम रहन्छ । दादुरा उन्मूलन गर्न लक्षित उमेर समूहका शतप्रतिशतमै पूर्ण जोड लगाउनुपर्छ,’ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘खोप लगाएकामा पनि ३० वर्ष कटेपछि प्रतिरोधी क्षमतामा ह्रास आउने र यी व्यक्तिबाट बालबालिकामा सर्ने जोखिम रहन्छ । सामान्यतया बालबालिका बढी प्रभावित हुने भए पनि वयस्कमा समेत दादुरा संक्रमण भेटिन्छ ।’ हाल संक्रमण पुष्टि भएका बालबालिका अधिकांश खोप नै नलगाएका वा एक डोज मात्र लगाएका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । खासगरी, कोभिडको समयमा पूर्ण खोप लगाउनबाट धेरै बालबालिका वञ्चित भएका कारण पनि हाल संक्रमण फैलिएको हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.